Friday, May 27, 2016

गृहकार्य डर


      आज स्कुल जान्न है बा'... किन छोरा? बा ले सोध्नुभो, आज गृहकार्य गरेको छैन। किन गरिनस त? बा ले पुन: प्रस्न गर्नुभो, मैले हिजो टाउको दुखेको थियो भनेर ढाटेँ किन कि हिजो स्कुल बाट आउने बित्तिकै किताब कलम घर भित्र फालेर लुगापनी नफेरी स्कुल ड्रेस मै पल्तिर प्रकाश दाई,गोकुल भन्डारी,घर्ती कान्छो,पोषक पोखरेल ("हनुमान", रिस उठ्दा,गाली गर्दा बोलाउने नाम)  सबैजना मिलेर गुच्चा खेल्न गएका थियौँ। घर फर्कदा साँझ परिसकेको थियो ,बा बेसि जानुभको आईसक्नु भएको थिएन । आमा ले गाली गर्नु भो नपढेर गाउँ डुलेर आईस हैन, म निन्याउरो मुख लाएर बसेँ। आमाको मन न हो निन्याउरो अनुहार  देखेर  ,ल हात खुट्टा धोएर खान आईज अनि गएर पढ्नबस बा'ले गाउँ डुलेको थाहा पाउनुभयो भने लौरो भाँच्नुहुन्छ। आमाको गालिमा पनि कति "माया"छ अहिले सम्झन्छु, खाना खाएर एकछिन पढेजस्तो गरे, निन्द्रा लागेर कतिबेला किताब माथिनै सुतेछु थाहै पाईन। पछि बा' आउनुभएछ|. बा आएको चाहिँ थाहा पाएँ ,अनि किताब माँथी नै सुतेको देखेर छोराले पढ्दापढ्दै निदाएछ भनेर किताब निकालेर तख्तामा राख्दिनु भो। त्यो सबै चाल पाएर पनि निदाए जस्तो गरेँ, बिउँझेको भए यसरी पढ्दापढ्दै निदाउने हो भन्दै बा'ले गाली गर्नुहुन्थ्यो।
             बिहान भात खाएर स्कुल जानेबेलामा तनाव भयो आज स्कुलमा सर लाई बुझाउनुपर्ने  गृहकार्य गरेको छैन अब गरौँभने भ्याईँदैन गृहकार्य नगरी स्कुल जाउँ भने  थापा सर ले लौराले पिट्छन।लौरो पनि मसिनो खाल्को पिट्दा साह्रै दुख्ने। अरु सरले त गाली मात्र गर्छन। अनि बा'ले सम्झाउनु भयो स्कुल नगएर हुदैन जानुपर्छ बुझिस कान्छा सरले पनि  टाउको दुखेको थियो भनेपछी त सरहरुले पनि केही गर्नु हुन्न नि! बा' लाई के थाहा यस्ता टाउको दुखेका बहाना त कति पटक बनाएँ होला कति अब त साँच्चिकै टाउको दुखे पनि कसैले पत्याउदैनन होला। मन मन मा एस्तै कुरा खेलाउँदै स्कुल तिर हिडेँ। हाम्रो घरबाट स्कुल लगभग दस मिनेट को दुरिमा छ। स्कुल जाँदा सोच्दै थिएँ आज हात सुन्निने भो,स्कुल मा पुगेँ, स्कुल को घन्टी बज्यो सङ्सङै मेरो मनमा पनि घन्टी बज्दै थियो।
               पहिलो पिरियड सकियो,दोस्रो...तेस्रो..चौथो.. एतिबेलासम्म त सबैको गाली मात्र खाइयो कुनै सरले पनि  पिटेनन। अब 1:30 देखि 2:45 सम्म खाजाखाने समय , साथिहरु सङ्ग यो समय मा आँप खान जाने सल्लाह गर्‍यौँ अनि स्कुल देखि अलि तल लग्भग ५ मिनेट टाढा हाम्रै गोठ,बारि  बारिको छेउँमा टन्नै आँप छन् तेहाँ गएर आँप खाइयो हाम्रो आँप भएकोले मलाई सबैले टिपेर दिन्थे म रुख चड्नु पर्दैनथ्यो, आँप खाईसकेर स्कुल  फर्कने बेला भो म मन मनै सोचेँ अब स्कुल जान्न यहिँ गोठमा लुकेर बस्छु अनि स्कुल छुट्टी भएपछी अरु सङ्गै घर जान्छु।
             तेस्पछी अलि मिल्ने साथी किस्ने लाई मेरो योजना सुनाएर झोला बिचबाटो सम्म ल्याईदिन भने उसले पनि हुन्छ भन्यो, आँप खादै गोठमा बसेँ , ४ बजेको स्कुल को घन्टी सुनियो अनि कसैले नदेखुन भन्दै बाटो मा आएँ, किस्ने ले मलाई कुरेर बसेको रैछ , आज थापा सरले गृहकार्य चेक नै गरेनन रे किस्नेले भनेर थाहा पाँए अनि अर्को दिन के के  गृहकार्य थियो किस्ने सङ्ग बाट मागेर सबै गरेँ, त्यो दिन देखि सधैँ गृहकार्य गरेर स्कुल जान थालेँ।